Back

ⓘ नयनबहादुर खत्री




                                     

ⓘ नयनबहादुर खत्री

ललितपुरमा जन्मिएका खत्रीले ७ वर्षको उमेरमा १९८५ मा ब्राहखरीको पढाई, विं.स १९९५ मा एसएलसी र त्रिचन्द्र कलेजबाट आईए पढेका थिए । भारतको लखनउबाट अर्थशास्त्रमा एमए र कानुनमा बीएल गरेका थिए ।

                                     

1. सेवा

खत्रीले २००४बाट सरकारी सेवा सुरु गरेका थिए । खत्री २४ वर्षको उमेरमा २००४ सालबाट मुलुकी अड्डा ऐनसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २००५ सालमा मेजर दर्जामा ल्हासाको वकिल नियुक्त भएका थिए । खत्री २००९ सालमा कानुन मन्त्रालयको सचिव नियुक्त भएका थिए । २०१६ देखि २०३३ साउन २३ सम्म सर्वोच्च अदालतको न्यायाधीश भएका खत्री २०१६, २०२८ र २०४८ सालमा कानुन सुधार आयोगको अध्यक्ष बनेका थिए । कानुनतर्फ नयनबहादुर खत्री, विश्वनाथ उपाध्याय, अनिरुद्धप्रसाद सिंह, भगवतीप्रसाद सिंह, विनोदप्रसाद धिताल, प्रो रत्नबहादुर विष्ट, शम्भुप्रसाद ज्ञवाली आदि त्यतिबेला राजा महेन्द्रले पत्याएका मानिसहरू थिए ।

पञ्चायतकालमा २०४३ मा चीनका लागि राजदूत समेत बनेका खत्रीले कानुन मन्त्रालयमा सेक्रेटरी सचिव, सर्वोच्चका प्रधानन्यायाधीश, कानुन, आयोग र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए ।

वि.सं. २०३१ देखि २०३२ सम्म प्रेस काउन्सिलका अध्यक्ष रहेका खत्री २०२४ सालमा गठित प्रेस सल्लाहकार समितिका अध्यक्षसमेत रहेका थिए ।

                                     

2. प्रधानन्यायाधीश

खत्री २०३३ सालमा प्रधानन्यायाधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।

राजनीतिक बन्दी, सञ्चार माध्यम, सङ्गठन खोल्ने अधिकार विरुद्धका हर्कत रोक्नका लागि अदालती आदेशहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रजातन्त्रका लागि सङ्घर्षरत नेता बीपी कोइरालालाई फाँसीको माग गर्दै दायर गरएिको रिट २०३३ सालमा सर्वोच्चले खारेज गरिदएको थियो । त्यस्तै, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तत्कालीन सरकारको निर्णय बदर हुने फैसला पनि त्यतिबेलै भएको थियो । तत्कालीन शासक र व्यवस्थाका विपक्षमा रहेका यी फैसला सुनाउँदा प्रधानन्यायाधीश नयनबहादुर खत्री थिए ।

                                     

3. मृत्यु

खत्रीको २०७६ जेठ ८ मा बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार देशभरका सबै अदालत विदा दिने निर्णय गरेको थियो । सर्वोच्च अदलतका मुख्य रजिस्ट्रार नृतपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तिमा खत्रीको असामयिक निधनबाट न्याय, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख थियो । सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीशको रूपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएको सर्वोच्चद्वा जारी विज्ञप्तीमा छ । खत्रीको निधनमा शोक प्रकट गर्न आइतबार नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधिकरणहरू शोक विदाको रूपमा बन्द रहने विज्ञप्तीमा जनाइएको थियो ।