Back

ⓘ महाकाली नगरपालिका, कञ्चनपुर




महाकाली नगरपालिका, कञ्चनपुर
                                     

ⓘ महाकाली नगरपालिका, कञ्चनपुर

महाकाली नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्दछ। यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका चाँदनी र दोधारा गाविस समावेश गरी स्थापना भएको हो। मिति २०७१ पौष २८ गतकोे नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरी १० वडा कायम गरिएको थियो।

                                     

1. इतिहास

नेपाल सरकारको मिति २०७१ पौष २८ गतेको निर्णय अनुसार साविकका चाँदनी र दोधारा गाविस समावेश गरी १० वडा सहितको दोधारा चाँदनी नगरपालिका घोषणा भएको थियो । नेपालको संविधानको धारा २९५ को उपधारा ३ बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पौष २२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३ माघ २२ को निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधारमा नेपाल सरकारले मिति २०७३ फल्गुण २२ मा साविकको दोधारा चाँदनी नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका घोषणा गरेको हो। जसमा साविका १० वडाहरू नै कायम गरिएको छ ।

                                     

2. भौगोलिक अवस्थिति

मिति २०७३ फाल्गुण २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका नामाकरण गरी १० वटा वडा कायम गरिएको छ। यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ। त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्षण रहेका छन्। यो नगरपालिका समुन्द्री सतहबाट १७५ मि. देखि २२५ मि. को उचाईमा रहेको छ भने काठमाडौँ देखि ७२२ कि.मि. को दूरीमा छ।

                                     

3. हावापानी

महाकाली नगरपालिकाको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यमिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरू संचालित छन्। यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ।

                                     

4. जनसङ्ख्या

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्रीजाति १३,६६८ जना ३४.८२ प्रतिशत, दोस्रोमा कामी ८,९७५ २२.८६ प्रतिशत र तेस्रोमा ब्राम्हण पहाडी ३,९६२ १०.०९ प्रतिशत हरूको बसोबास रहेको छ। यस नगरपालिकामा १० वडाहरू रहेका छन्। औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरूमा व्यापार, नोकरी र वैदेशिक रोजगारी पनि एक हो। अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन्।

                                     

5. चाडपर्व

विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ। दशैँ, तिहार, माघी, होली, गौरा, कृष्णजन्माष्टमी, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिसमस आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ।