Back

ⓘ शुक्लाफाँटा नगरपालिका




                                     

ⓘ शुक्लाफाँटा नगरपालिका

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिका नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुनुपूर्व झलारी, पिपलाडी र देखतभुलीका वडा नं ४ र ६ गरी तिन वटा गाविस थिए र तीन वटा गाविसका वडाहरू समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो। नेपाल सरकारको मन्त्री परिषदको मिति २०७३ फाल्गुण ०९ गतेको निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ। जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि. टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्त्व र विशेषता बोकेको छ। यस नगरपालिका क्षेत्रमा सबै जातजाति धर्म तथा क्षेत्रका मानिसहरूको मिश्रित बसोवास रहेको छ।

कञ्चनपुर जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्य विन्दूमा रहेको १६२.५७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तर्गत ४६८३४ जनसङ्ख्या रहेको छ। यस नगरपालिकाको भू–आकृति स्वरुप करिब सवैजसो समतल रहेको छ। यस नगरपालिकाको पूर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँट वन्यजन्तु आरक्षण र बेदकोट नगरपालिका, उत्तरमा डडेल्धुराको चुरे पर्वत र दक्षिणमा लालझाडी गाउँपालिका र शुक्लाफाँट वन्यजन्तु आरक्षण रहेको छ। यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्री र न्युनतम तापक्रम ९ डिग्री रहेको पाईन्छ।