Back

ⓘ कनकाई धाम कोटीहोम




कनकाई धाम कोटीहोम
                                     

ⓘ कनकाई धाम कोटीहोम

कन्काई धाम पूर्वाञ्चलको एउटा महत्त्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जनिन्छ । विगत वि.सं २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुदै गएपछि कनकाईधामको रूपमा विकसित भयो । यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकाससंस्था कोटिहोम सुरङ्गा नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भएपनि यहाँ अरु २ दर्जन जति साना ठूला सङ्घ-सस्थाहरूले आ-आफ्ना गतिविधि गरिरहेका छन् । कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौ पाटी,पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् । यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान वाटिकाले यहाँ आउने जो सुकैले वास्तविक शान्ति र मनोरञ्जन प्राप्त गर्दछन् । कोटिहोममा बार्षिक पाँच लाख धार्मिक दर्शनार्थी तथा पर्यटक आउने गरेको संस्थाको रेकर्डबाट देखिन्छ । विशेष गरी यहाँ आउने मानिसहरु पूजा आजा, विवाह, व्रतबन्ध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक व्यवहारिक जीवनको अस्त व्यस्तता, शहरी कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउन, घुम्नको लागि यहाँ आउने चलन छ । यस बाहेक यो स्थान नेपालमा सबै भन्दा बढी थर गोत्रीय संस्थाहरू एकिकृत भएको धाम पनि यो मात्र हो । साथै योगी नरहरिनाथले नेपालमा लगाएका १०० भन्दा बडी कोटिहोम मध्ये यो तेह्रौँ कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बढी विकसित भएको क्षेत्र पनि संभवत यही हो । यहाँको कनकाई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै देखिने चूरे पहाडको मनोरम दृश्य, कनकाई नदीको स्नान योग्य स्वच्छ चीसो पानी र सर्वसुलव सुगमक्षेत्र भएको कारण सबैको मन जित्न सफल हुदै गए पनि संस्थाको सिमित्त साधन स्रोतको कारणले यहाँ पर्यटकहरूको लागि सुविधायुक्त भवनहरू निर्माण हुन थालेका छन् ।

                                     

1. इतिहास

नेपालका विभिन्न धार्मिक महत्त्वका नदीहरु जस्तै कन्काई नदीमा पनि धेरै वर्ष पहिलादेखि नै स्थानीय हिन्दू धर्मावलम्बी भक्तजनहरूद्वारा आस्थापूर्वक पूजा आराधना गर्ने प्रचलन रहिआएको छ। यसो गर्दा आफूले राखेको मनोकांक्षा पुरा हुन्छ भन्ने जन विश्वास रहँदै आएको छ । यसै परिप्रेक्षमा नेपालको आध्यात्मिक जगतका चर्चित व्यक्तित्व तथा नेपालका राष्ट्रगुरु योगी नरहरिनाथ ज्यूको विशेष अगुवाइ तथा विभिन्न क्षेत्रका धार्मिक सन्त तथा समाजसेवीहरूको सक्रियतामा विक्रम सम्बत २०४२ सालको पौष महिना भर एक महिनासम्म विश्वकल्याण कोटिहोम महायज्ञ यसै क्षेत्रमा आयोजना गरियो, तत्पश्चात् यस स्थानलाई कोटिहोम भन्न थालिएको हो र पछि विकशित हुदै गएपछि कनकाई धाम भनेर प्रसिद्ध भयो ।

                                     

2. विकास र विस्तार

वि.स.२०४२ सालको महायज्ञ सम्पन्न भए पश्चात यस स्थानमा महायज्ञ गरिएको अग्निलाई बचाई राख्न सोही यज्ञ कुण्डलाई यथावत राख्दै सो स्थानमा शिवपाञ्चायन मन्दिरको निर्माण गरिएको थियो जुन मन्दिर हाल भव्य रूपमा स्थापित छ । साथै सो स्थान मा योगी नरहरिनाथ आफैले उद्घाटन गरी एउटा संस्कृत विद्यालय समेत प्रारम्भ गराई दिनु भएको थियो जो आज पर्यन्त सञ्चालन मै रहेको छ । यस पछि यस स्थानमा विभिन्न थर गोत्रीय बन्धु संस्था र दाताहरूबाट धर्मशाला तथा मठ मन्दिरको निर्माण कार्यहरु हुन थाले पनि कोटीहोम क्षेत्रलाई औपचारिक रूपमा धामको रूपमा विकशित गर्नको लागि वि.स.२०४७ सालमा समाजसेवी भक्त बहादुर खड्काको अध्यक्षतामा विधान बनाइ कन्काई धाम धार्मिक विकाश सस्था कोटीहोम छोटकरीमा कोटीहोम संस्था पनि भनिन्छ नामक सस्थाको विधिवत गठन गरी दर्ता गरिएको थियो, सोही संस्थाको मातहतमा हाल सम्म यस स्थानको विकास निर्माण सम्पादन, समन्वय, सञ्चालन तथा संरक्षणका कार्यहरु हुँदै आएका छन् । कनकाई धाममा दर्जनौ मठ, मन्दिर, धर्मशाला, पाटी पौवा, निर्मित तथा निर्माणाधीन छन् भने विभिन्न धर्म सम्प्रदायहरु जस्तै: बौद्धमार्गिको गुम्बा, निम्बार्ग, कबीर, प्रणामी, साइराम, आर्य समाज आदिका आ-आफ्नै अश्रमहरु र विभिन्न थर गोत्रीय बन्धु संस्थाका आ-आफ्नै मन्दिर तथा धर्मशालाहरू पनि रहेका छन् । कनकाई धाम महेन्द्र राजमार्गसंग जोडिएको हुनाले राजमार्ग पारी कृष्णप्रणामी मन्दिर निम्बार्कीको मन्दिर रहेका छन् । यस ठाउँको प्रसिद्ध तथा मूल मन्दिरको रूपमा भने कोटीयज्ञेश्वर शिव पाञ्चायन मन्दिर कोटीहोम मन्दिरलाई मानिन्छ । यस अतिरिक्त यहाँ अथिति आवास तथा कार्यक्रम गर्न भनि बनाएका केही बहु उद्देश्यिय सामुदायिक भवन र फुलवारी उद्यान वाटिका पनि निर्माणका क्रममा छन् । यहाँ सबै भन्दा महत्त्वपूर्ण सर्पदंस केन्द्रको स्थापना गरिएको छ यसलाई कनकाई सहारा सर्पदंश उपचार केन्द्रको नामले जनिन्छ । रु ६० लाखको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा एकैपटकमा छ जनासम्म बिरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ ।

                                     

3. दर्शनार्थी तथा पर्यटकको आवागमन र महत्त्व

कनकाई धाम कोटिहोममा बार्षिक पाँच लाख भक्त, दर्शनार्थी तथा पर्यटक आउने गरेको संस्थाको रेकर्डबाट देखिन्छ। नेपालको पूर्वीय क्षेत्रको अलावा पूर्वोत्तर भारत को दार्जीलिङ, सिक्किम, पश्चिम बङ्गाल र आसामका भक्त दर्शनार्थीहरू समेत यहाँ आइ रहने गरेको पाइन्छ । यद्यपि झापा मोरङ जिल्लाका मृतकहरुका अन्तिम संस्कार गर्नु परेमा कनकाई नदीलाई नै सबै भन्दा पवित्र मानिलाने चलन भएकोले मलामी जनहरूको पनि यहाँ उतिकै आवागमन रहन्छ । यस बाहेक यो स्थान नेपालमा सबै भन्दा बडी थर गोत्रीय सस्थाहरू एकीकृत भएको धामको रूपमा पनि चिनिन्छ । यस अलावा योगी नरहरिनाथले नेपालमा लगाएका १०० भन्दा बडी कोटिहोम मध्ये यो तेह्रौ कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बढी विकसित भएको क्षेत्रको रूपमा आफुले यो धामलाई पाएको कुरा योगीजीले जीवित हुदै बताउनु भएको थियो ।

                                     

4. प्राकृतिक सौदर्य र सुगम पहुच

यहाँको कन्काई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै देखिने चूरे पहाडको मनोरम दृश्य, कन्काई नदीको स्नान योग्य स्वच्छ चिसो पानी र महेन्द्र राजमार्ग मै रहेको कारण सर्व सुगम पहुच भएको कारण पनि भक्तहरूले कुनै धार्मिक कार्य गर्दा कनकाई धाम कोटीहोम सम्झने परम्परा बढ्दै गरेको आभाष हुन्छ ।

                                     

5. पर्व र मेला

कनकाई धाममा विशेष गरी शनिवार मंगलबार पूजा पाठ गर्नेहरूको बढी घुइचो हुने गरेको छ । यस बाहेक राम नवमी, महाशिवरात्री, जनै पूर्णिमा,बुद्ध जयन्ति,ऋषि पञ्चमी, बाला चतुर्दशी आदि पर्वहरू र श्रावण महिना भर जल चढाउने बोलबम भक्तहरूको भिड हुने गर्दछ । तर पूर्वाञ्चल क्षेत्रकै प्रख्यात माघे सङ्क्रान्तिमा हुने माई मेला भने वर्षको एक पटक माघ संक्रान्ति अघि पछि गरी एक हप्ता सम्म लाग्ने गर्दछ, जुन मेलामा देश विदेशका लाखौ महानुभावहरू मेलामा मनोरञ्जन गर्न आउछन् ।

                                     

6. बृहत्कनकाई पर्यटकीय क्षेत्रको अवधारणा र कनकाई आर्यघाटको निर्माण

झापा जिल्लाको सुरुङ्गा र सतासीधाम गाविसमा अवस्थित कनकाई नदीको तटीय क्षेत्र वारी पारी नै मठ मन्दिरहरूको विकास भै रहेको र यो क्षेत्र एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकशित हुदै गई रहेकोले यहाँ वरपर रहेका कनकाईधाम माई नदी पूर्व र पश्चिम दुवै भूभाग दोमुखा पर्यटकीय क्षेत्र, धनुषकोटि धाम लगायतको क्षेत्रलाई समेटी बृहत कनकाई पर्यटकीय क्षेत्र को रूपमा एकिकृत रूपले विकास प्रक्रिया अगाडि बढाउने उद्देश्यले गुरु योजना प्राविधिक नक्सा निर्माण कार्य भएको छ । साथै कनकाई माईको पूर्वीय किनारमा अन्तिम संस्कार गर्ने बढ्दो प्रचलनलाई मध्यनजर गरी कनकाई आर्यघाट नामक संस्था गठन गरी सुविधायुक्त आर्यघाटको निर्माण गरिएको छ ।

                                     

7. यातायात

यातायातको लागि कनकाई न.पा. वडा नं-४, मा रहेको यो धाम महेन्द्र राजमार्ग अन्तर्गत नेपालकै लामो कनकाई नदीको पुलको पुर्वीय तटमा रहेको" कनकाई धाम धार्मिक विकास संस्था” कोटीहोम धामसम्म आउनको लागि पक्कि सडक रहेकोले यहा आउँन प्रसस्त रूपमा सवारी साधन पाईन्छन्। साथै भद्रपुर विमानस्थलबाट बस तथा ट्याक्सीबाट पनि सिधै बिर्तामोड, सुरुङ्गा हुँदै यो धाममा आउन सकिन्छ ।

                                     

8. ध्यान दिनुपर्ने कुरा

धुम्रपान, मध्यपान, मांसहार एवं मर्यादा विपरित कार्य गर्न पाइदैन् । धाम दर्शनमा आएका तीर्थालु पर्यटकहरूले धाम भित्र समिति मार्फत बन्देज लगाइएको कार्य विपरित कुनै कार्य गर्न निषेध गरिएको छ ।

                                     

9. अन्य आकर्षण

यस क्षेत्रमा पर्यटकहरूले चुरे पहाड भएकोले विभिन्न वस्तुहरूको अन्वेषण गर्न सकिने स्थान हो । यस ठाउँमा चुरे पहाड भित्र रहेको हरियाली वनस्पति, जडिबुटि, जङ्गली वन्यजन्तु, कनकाई नदीको बहाव, चुलीबाट इलाम जिल्ला भित्रका विभिन्न स्थानहरूको अवलोकन गर्न र झापाका तराईका फाँटहरूलाई दृष्य अवलोकन गर्न यस क्षेत्रमा विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति, रितिरीवाज, परम्परा, भेषभुषा र संस्कारको जगेर्ना गर्दै भाईचारा सम्बन्धलाई बलियो बनाई विभिन्न जात–जातीहरुका मानिसहरूको बसोबास रहेको छ ।

                                     

10. अतिक्रमण

हवन कुण्ड संरक्षण तथा अखण्ड धुनी जगाइएको साढे तीन बिघाको जंगल तथा कनकाईको बगर क्षेत्रलाई कोटीहोम नामकरण गरिएको थियो । यहाँ चाडपर्वमा पूजाआजा गर्न तथा शनिबारका दिन घुइँचो लाग्न थालेपछि फूलपाती, फलफूल र खाजाका व्यापारीले अस्थायी टहरा बनाए । व्यापार फस्टाउन थालेपछि कोटीहोम क्षेत्र अतिक्रमणमा परेको हो । कोटीहोमको साढे तीन बिघामध्ये दुई बिघा जमीन अतिक्रमण भएको छ । २०५२ मा सुकुम्बासी समस्या समाधान आयोग बनेपछि कनकाई नगरपालिका–४ को कोटीहोम क्षेत्रलाई कनकाई धाम धार्मिक विकास संस्थाको नाममा नापी गरिएको थियो । तर जग्गाधनी प्रमाणपत्र जारी नभएपछि । यो क्षेत्रभित्र २४ वटा बन्धु र गोत्र समाजले भवन र मन्दिर बनाएका छन् तथा ३७ परिवार घरै बनाएर बसेका छन् । वर्षेनि घरको आकार क्षेत्र बढाउँदै गएको छ । अतिक्रमणले बिहे तथा ब्रतबन्ध गर्दा बस्न ठाउँ अभाव हुँदै गएको छ भने मुक्तिघाटमा लाश दहन गर्दा मलामीलाई बस्नका लागि चौतारो बनाउने ठाउँ पनि बाँकी रहेको छैन ।

                                     

11. कनकाई धामका उल्लेखनीय विषयवस्तु

  • बि.स. २०४२ सालमा कोतिहवन कोटीहोम महायज्ञ गर्दा प्रज्वलित गरिएको अग्नि कुण्ड जुन आज पर्यन्त अविछिन्न प्रज्वलित छ ।
  • नेपालको सबै भन्दा लामो पूल ७०३ मिटर: कनकाई नदीको पूल र खुल्ला फाट बगरको मनोरम दृश्य समिपमा ।
  • स्व. योगी नरहरिनाथ ज्यू ले प्रारम्भ गरे दिनु भएको सस्कृत विद्यालय: कनकाई गायत्री वैदिक विद्यापिठ कोटीहोम ।
  • धार्मिक सहिष्णुता र सद्भाव को नमुना: कोटीहोम मन्दिर साँगाक छ्योइलिंग बौद्ध गुम्वा मात्र ५० मिटर को दुरीमा हार्दिकता पूर्वक निर्माण र सञ्चालन ।