Back

ⓘ कनकाई उच्च माध्यमिक विद्यालय




कनकाई उच्च माध्यमिक विद्यालय
                                     

ⓘ कनकाई उच्च माध्यमिक विद्यालय

कनकाई उच्च माध्यमिक विद्यालय को स्थापना वि.सं. २०१५ सालमा भएको हो। स्थापना कालमा यसको नाम सरस्वती प्राथमिक विद्यालय, सुरुङ्गा थियो। जनमेजय अधिकारीका गाई कटेरो नै यसको स्थापना कालको विद्यालय भवन थियो। यस माध्यमिक विद्यालय स्थापना कालका प्रधानाध्यापक दलबहादुर थापा थिए। कनकाई नगरपालिका हुनुपूर्व यो उच्च माध्यमिक विद्यालय झापा जिल्लाको सुरुङ्गा गा.वि.स. वार्ड नं.५ मा पर्दथ्यो भने अहिले कनकाई नगरपालिका वडा नं.३ मा पर्दछ। यो सामुदायिक विद्यालय हो। वि.सं. २०२१ सालमा अनिवार्य निशुल्क शिक्षा लागु भएपछि यसको सञ्चालनको जिम्मा तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतले लियो। त्यसबेला यसको नाम अनिवार्य निशुल्क प्राथमिक पाठशाला केन्द्र नं १ थियो।

                                     

1. जुनियर हाइस्कुलमा स्तरोन्नति

२०२५ सालमा कनकाई जुनियर हाइ स्कुलको स्वीकृति पाएर कक्षा ६, ७, र ८ को अध्ययन अध्यापन प्रारम्भ भयो । जुनियर हाइ स्कुल भएपछि सो तहतर्फ कृष्णप्रसाद दहाल सिक्किम हेड मास्टरमा नियुक्त हुनुभयो भने सहायक शिक्षकमा कोमलप्रसाद पोखरेल र चन्द्रशेखर बोस नियुक्त हुनुभयो । २०२५ देखि २०२९ सम्म प्रथमिक तहमा १-५ र जुनियर हाइ स्कुलमा ६-८ को पढाइ सञ्चालन भयो । त्यसबेला सानो तिन कोठे काठको बेरा र एजबेस्टरको छानु भएको भवन जन श्रमदानद्वारा निर्माण गरिएको थियो । भुइँ ढलाई गर्ने खर्चको अभावले बालुवामा सिट राखेर सारै दुःखले पढ्रने पढाउने काम हुन्थ्यो ।

                                     

2. निम्न माध्यमिक तहसम्मको व्यवस्था

२०२९ मा नयाँ शिक्षा लागु भएपछि यस विद्यालयको स्तर घटेर निम्न माध्यमिक तहसम्म मात्र रहेको देखिन्छ । त्यसबेला यस विद्यालयको नाम कनकाई निम्नमाध्यमिक विद्यालय रहेको र कक्षा ७ सम्म मात्र पढाइ हुने गरेको थियो । यसमा कक्षा ७ उत्तीर्ण गर्ने विद्यार्थीहरू कक्षा ८,९,१० पढ्न कोही घैलाडुब्बा जान्थे भने कोही शनिश्चरे जान्थे । त्यसबेला भवनको अवस्था निकै नाजुक थियो । एजबेस्टरको छानो र काठको बेरा भएको एउटा तिनकोठे भवन थियो । तत्कालीन प्रधानपञ्च गणेशप्रसाद पोखरेलद्वारा प्रदान गरिएका २५ जोडी सखुवाका फर्निचरबाट दुखंसुखं काम चलाईएको थियो । बालुवै बालुवा भएको भुइँमा विद्यार्थीहरूलाई माटो छाप्न लागाएर फर्निचर राखेर पढाउने गरेको थियो ।